आईसीसी विश्वकप लिग टु : नेपाल र स्कटल्याण्ड आज भिड्दै

आइतबार, मंसिर १८, २०७९

काठमाडौँ–आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आइतबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।


नेपालले आइतबार दोस्रो खेल खेल्न लागेको हो । नामिबियासँगको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो ।  नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरू हुनेछ ।

यो सिरिजमा दुवै देशले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित पारेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो ।


यस सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्