अर्जेन्टिनालाई जित्नै पर्ने दबाब

यस्तो छ समूह ‘सी’ को नकआउट समीकरण
बुधबार, मंसिर १४, २०७९

काठमाडौँ–फिफा विश्वकपमा बुधबार बेलुका समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । समूह ‘सी’ र ‘डी’ का खेलहरू हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ का चार टिम एकैसाथ प्रतिस्पर्धामा उत्रँदैछन् । जहाँ साविक विजेता फ्रान्सले ट्युनिसिया र अस्ट्रेलियाले डेनमार्कविरुद्ध खेल्दै छन् । यी खेलहरू ८ः४५ बजेदेखि सुरु हुनेछ ।


यस्तै, दोस्रो खेलमा समूह ‘सी’ का चार टिम प्रतिस्पर्धामा उत्रँदैछन् । जसमा कतारको रंगशाला ९७४ मा दुई पटकको विश्वविजेता अर्जेन्टिनाले पोल्यान्डसँग खेल्दा लुसैल रंगशालामा साउदी अरेबियाले मेक्सिकाविरुद्ध खेल्दै छ । दुवै खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । विश्वकपको अन्तिम–१६ मा स्थान बनाउँन समूह ‘सी’ का चारै टिमलाई जितको दबाब छ ।


समूहमा दुई खेलबाट चार अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ । समान खेलबाट तीन–तीन अंक जोडेका अर्जेन्टिना र साउदी अरेबिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, एक अंक जोडेको मेक्सिको तालिकाको पुछारमा छ ।


समूह ‘सी’ यस्तो छ समीकरण ?


पोल्यान्ड जित वा बराबरको नतिजाले पनि अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, पोल्यान्ड हार्दा साउदी अरेबियाले जित निकाले रोबर्ट लेवान्डोवस्कीको टिम समूह चरणबाटै बाहिरिनेछ । 


यदि, पोल्यान्ड पराजित भए अर्को खेलमा साउदी अरेबियाले मेक्सिकोसँग बराबर खेले यी दुई टिममध्ये गोलअन्तर उच्च हुने टिम नकआउटमा पुग्नेछ । पोल्यान्ड पराजित हुँदा साउदी अरेबियाले मेक्सिकोसँग हार बेहोरे पोल्यान्ड र मेक्सिकोबाट राम्रो गोलअन्तर हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ ।


विश्वकपको नकआउट चरणमा पुग्न अर्जेन्टिनालाई भने जितको दबाब छ । तर, अर्को खेलमा मेक्सिको र साउदी अरेबियाले बराबर खेले अर्जेन्टिनालाई बराबरीको नतिजा नै नकआउट चरणका लागि पर्याप्त बन्नेछ । यद्यपि, अर्जेन्टिना बराबरीमा रोकिँदा साउदी अरेबियाले मेक्सिकोलाई पराजित गरे लियोनल मेसीको टिम समूह चरणबाटै घर फर्किनेछ । यदि, मेक्सिकोले साउदी अरेबियालाई पराजित गरे अर्जेन्टिना बराबरीमै रोकिए पनि यी दुई टिमबीच राम्रो गोलअन्तर रहने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।


मेक्सिकोविरुद्ध जित निकाले साउदी सोझै नकआउट चरणमा पुग्नेछ । अर्को खेलमा पोल्यान्डले अर्जेन्टिनालाई पराजित गरे साउदीलाई नकआउट चरणका लागि बराबरीको नतिजा पनि पर्याप्त हुनेछ । तर, साउदी हार्दा अर्जेन्टिना र पोल्यान्डले बराबरी खेले साउदी विश्वकपबाट बाहिरिनेछ ।


यदी अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे साउदी मेक्सिकोसँग बराबरीमा रोकिए पनि पोल्यान्ड र साउदीबीच गोलअन्तर राम्रो हुने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, हारको नतिजाले भने साउदीको विश्वकप यात्रा समूह चरणमा नै सीमित बन्नेछ ।


यता, यो समूहमा सबैभन्दा झिनो सम्भावना बोकेको मेक्सिकोलाई जित्नै पर्ने दबाब छ । पोल्यान्डसँग अर्जेन्टिना पराजित हुँदा साउदीविरुद्ध जितसहित मेक्सिको अन्तिम–१६ मा प्रवेश गर्नेछ । मेक्सिकोले जित निकाले पनि पोल्यान्ड र अर्जेन्टिनाले बराबरी खेले मेक्सिको र अर्जेन्टिनामा गोलअन्तर राम्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ । मेक्सिकोले साउदीलाई हराउँदा अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे मेक्सिको र पोल्यान्डबीच उच्च  गोलअन्तर हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ । तर, मेक्सिकोले साउदी अरेबियासँग हार बेहोरे समूह चरणबाटै घर फर्किनेछ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्