विश्वकप २०२२: आज पहिलो खेल ६: ४५ बजे सुरु हुँदै

शुक्रबार, मंसिर ९, २०७९

कतार – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले एसियाली राष्ट्र इरानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशाला हुनेछ ।


विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले यसअघि एकपटक मात्र एसियाली टोलीको सामना गरेको थियो । सन् १९८२ को समूह चरणमा कुवेतलाई १–० ले पराजित गरेयता टोलीले एसियाली राष्ट्रको सामना गरेको छैन । इरान र इंग्ल्यान्डबीच पहिलो पटक अधिकारिक खेलमा प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डले पछिल्लो ७ सहभागितामा एक पटक मात्र उद्घाटन खेलमा हार बेहोरेको छ । त्यसबाहेक ३ खेलमा जित र ३ खेल बराबरीमा सकिएको छ । यता इरानले भने पछिल्लो दुवै विश्वकपमा सुरुवाती खेलमा गोल खाएको छैन ।

इरानका प्रशिक्षक कार्लोस क्वेरोज चौथो पटक विश्वकपमा टोलीको जिम्मेवारी सम्हाल्दैछन् । सन् २०१० मा पोर्चुगलको टोली हेरेका उनी पछिल्लो तीन संस्करणमा भने इरानसँग रहेका छन् । इरानले हालसम्म विश्वकपमा १५ खेल खेल्दा २ जित, ४ बराबरी र ९ हारको नतिजा निकालेको छ । इरानले विश्वकपको एकै खेलमा २ गोलभन्दा बढी गर्न सकेको छैन ।

यता इंग्ल्यान्डका कप्तान ह्यारी केन अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डको लागि सर्वाधिक गोलकर्ता बन्ने इतिहास रच्नबाट २ गोल टाढा छन् । उनले हालसम्म ५१ गोल गरिसकेका छन् । गत संस्करणको समूह चरणमा केनले गोल्डेन बुट जितेका थिए । उनी त्यसै लयलाई कायम राख्न चाहन्छन् ।

यस्तै,  दोस्रो खेलमा सोमबार अफ्रिकी च्याम्पियन सेनेगलले नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:१५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स पछिल्लो विश्वकपमा छनोट हुन नसकेपछि यसपटक बलियो टोलीका साथ कतार आइपुगेको छ । तीन पटकको उपविजेता टोली यसपटक समूहमा बलियो सुरुवात गर्न चाहन्छ । सन् २०१४ को सेमिफाइनलमा जर्मनीसँग पराजित प्रशिक्षक लुइस भान गाल पुनस् एकपटक टोलीको नेतृत्व सम्हालिरहेका छन् ।

यता सेनेगल सन् २००२ मा आफ्नो पहिलो सहभागिता जनाउँदा गरेको सुरुवात दोहोर्याउन चाहन्छ । त्यसबेला पहिलो खेलमा साविक विजेता फ्रान्सलाई १(० ले स्तब्ध पार्दै सेनेगलले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । सेनेगलले विश्वकपमा हासिल गरेको पछिल्लो तीन मध्य २ जित युरोपकै टोलीविरुद्ध रहेको छ । स्टार फरवार्ड साडियो माने चोटका कारण विश्वकपमा खेल्न नसक्दा टोलीको आक्रमणमा असर पर्ने देखिन्छ ।

सेनेगल र नेदरल्यान्ड्स अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्न लागेका हुन् । भान गालको आगमनपछि नेदरल्यान्ड्सले कुनै खेल हारेको छैन । पछिल्लो १५ खेलमा नेदरल्यान्ड्सले ११ जित र ४ बराबरीको नतिजा निकालेको छ ।

विश्वकप इतिहास पल्टाउने हो भने नेदरल्यान्ड्सले हालसम्म समूह चरणमा खेलेको ३० मध्य २ खेल मात्र हारेको छ । सन् १९९८ यता नेदरल्यान्ड्सले समूह चरणमा हारको सामना गर्नुपरेको छैन । यता सेनेगलले यसअघि खेलेको दुवै अवसरमा जितसहित सुरुवात गरेको छ । सन् २००२ मा फ्रान्सलाई हराएको अफ्रिकी टोलीले सन् २०१८ मा पोल्यान्डलाई २(१ ले पछि पारेको थियो ।

समग्रमा विश्वकपको नतिजा हेर्दा सेनेगलले ८ खेलमा ३ जित, ३ बराबरी र २ हारको सामना गरेको छ । नेदरल्यान्ड्सले ५० खेल खेल्दा २७ जित, १२ बराबरी र ११ हार बेहोरेको छ ।

समूह ए मा आइतबार इक्वेडरले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा कतारलाई २(० ले पराजित गर्दै ३ अंक जोडेको इक्वेडर शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नजर समूह को शीर्ष स्थानमा पुग्ने हुनेछ भने सेनेगल नेदरल्यान्ड्ससँग अंक खोस्दै आफ्नो सम्भावना बलियो पार्ने सुरमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्