निर्वाचन : म्याग्दीमा सबै तयारी पूरा

बुधबार, मंसिर ७, २०७९

म्याग्दी–म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचनका लागि मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारी आ–आफ्नो स्थल र केन्द्र पुगेर सर्वदलीय बैठक सम्पन्न गरी निर्वाचनका लागि आवश्यक भौतिक पूर्वाधार र निर्वाचन आयोगले तोकेका सबै काम पूरा गरिसकेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताए । ‘सबै मतदान केन्द्रमा टोली पुगिसकेको छ, मतदानस्थल निर्माणको काम र सर्वदलीय बैठकसमेत भइसकेको छ’, पौडेलले भने ।

 


जिल्लाभित्रका सबै मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा कुनै किसिमको समस्या नभएको बताइएको छ । म्याग्दी सदरमुकाम बेनीबाट २६ कोस टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा मतदान अधिकृत अमृत सुवेदीसहितका २० कर्मचारी पुगेका छन् भने धवलागिरि–४ मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलमा समेत गिरीप्रसाद छन्त्यालको नेतृत्वमा १९ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 
यी २ मतदानस्थल सुरक्षा र भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा संवेदनशील मतदानस्थल मानिन्छन् । गुर्जा र मुदीको बगर जिल्लाको सबैभन्दा विकटका मतदान केन्द्र भएकाले मतपेटिका ढुवानीमा समेत हेलिकोप्टरको माग गरिएको छ । 

 


मतदान केन्द्रमा स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबरम्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री पर्याप्त रहेको गुर्जाका मतदान अधिकृत सुवेदीले बताए । प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने ३ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ मतदाता छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्