अस्ट्रेलियाले इङ्ल्यान्डलाई दियो २८१ रनको लक्ष्य

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ–स्टिभ स्मिथको ९४ रनको मद्दतले अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा इङ्ल्यान्डलाई २८१ रनको लक्ष्य दिएको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि ११४ बलको सामना गरेका स्मिथले पाँच चौका र एक छक्कासहित ९४ रनको शानदार इनिङ खेले । 

 


आदिल राशिदले फालेको ४४औं ओभरको चौथो बलमा फिल साल्टको हातबाट क्याच हुँदा स्मिथ ६ रनले शतक बनाउनबाट चुके । यस्तै, मर्नुस लाबुस्चेनले ५५ बलमा चार चौका र एक छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

 


अस्ट्रेलियाका लागि ५९ बलको सामना गरेका मिचेल मार्स दुई चौका र दुई छक्कासहित अर्धशतक बनाएर पेभेलियन फर्के । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

 


इङ्ल्यान्डका लागि राशिदले सर्वाधिक तीन तथा क्रिस वोक्स र डेविड विलीले दुई–दुई विकेट लिए। मोइन अलीले पनि एक विकेट हात पारे ।

 


बिहीबार भएको पहिलो एकदिवसीयमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । अस्ट्रेलिया भ्रमणमा रहेको इङ्ल्यान्डलाई शृंखला जोगाउन आजको खेल जित्नै पर्ने दबाब छ । शनिबारको खेलमा पनि जित निकाल्न सके घरेलु टिमले एक खेल अगावै शृंखला हात पार्नेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्