एमालेको ३१ वर्ष लामो विरासत भत्काउने कांग्रेसको दाउ, दोस्रो पटक पुनः जित्ने एमालेको योजना

आइतबार, मंसिर ४, २०७९
कावासोती–आसन्न निर्वाचनमा पूर्वी नवलपरासी–२ मा पुरानै प्रतिस्पर्धी बीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ ।' कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् भने एमालेका महत आफ्नो पुरानो विरासत जोगाउँदै दोस्रो पटक जितेर संसद् प्रवेश गर्ने योजनामा रहेका छन् । २०४८ सालदेखि यस क्षेत्रमा एमालेले निरन्तर जित्दै आएको छ । २०७४ सालको निर्वाचनमा एमालेका महतले कांग्रेसका कार्कीलाई १ हजार ३०३ मतान्तरले पराजित गरेका थिए । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए । तर, अहिले सन्दर्भ र समय बदलिएको छ । त्यस बेला महतलाई मत हालेको नेकपा (माओवादी केन्द्र)ले यस पटक गठबन्धनका कार्कीलाई भोट हाल्नेछ भने एमालेबाट फुटेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) पनि कांग्रेसकै साथमा रहेको छ । ५ वटा स्थानीय तह र ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले २२, कांग्रेसले १६ र माओवादी केन्द्र र राप्रपाले १–१ वडा जितेका थिए भने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको हिसाब हेर्दा एमालेले ४२ हजार ५००, कांग्रेसले ३८ हजार ५८७, माओवादीले १ हजार ७४२, राप्रपाले र्२ हजार ३६५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धन, एमाले र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवार एक्लाएक्लै मैदानमा रहेकाले यस क्षेत्रमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाताको रुझान पनि आफ्नो पक्षमा रहेको जनाउँदै पहिलो पटक जित निकाल्ने कांग्रेसका कार्कीको दाबी छ भने विरासत जोगाएर दोस्रो पटक संसद्मा प्रवेश गर्ने दाउमा एमालेका महत छन् । कूल १ लाख २९ हजार २८० मतदाता रहेको यस क्षेत्रमा सत्ता गठबन्धनका कार्की र एमाले उम्मेदवार महतबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०२:५२
प्रतिक्रिया दिनुहोस्