उम्मेदवारको पक्ष–विपक्षमा लाग्ने सरकारी कर्मचारीको पद धरापमा पर्ने चेतावनी

आइतबार, मंसिर ४, २०७९
काठमाडौँ–निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष÷विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएसँगै आचारसंहिता उल्लंघन हुन नदिने बताएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन् । उनले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष÷विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताए । निर्वाचन आयुक्त भण्डारीले कुनैपनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चारमाध्यामहरुलाई आग्रह गरे । उनले निर्वाचनलाई असर पार्ने खालका कुनैपनि क्रियाकलाप गर्न नपाईने पनि बताए । स्थानीय तहमा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष/विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताए । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि बताए । यस्तै निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेहरुलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको बताए । अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरुले आचारसंहीता उल्लंघनको घटना बढाउने सक्ने आँकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताए । निर्वाचन आयुक्त भण्डारीले भने, ‘आचारसंहिता कुनैपनि ठाउँमा उल्लंघन हुन लागेको छ भने त्यसलाई तत्काल कारबाही गर्नुपर्छ भनेर हामी सबै पनि सचेत भएर लागेका छौं । यसको अतिरिक्त स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि अब जटिल समय आउनसक्छ त्यसो भएर तपाईहरु सचेत भएर कारबाही गर्नुस् भनेर हामीले भनिसकेका छौं । त्यसो हुनाले आयोगलाई लाग्छ कि, अब यस्ता किसिमका घटनाहरु हुँदैनन् । सबै अनुशासित भएर, आचारसंहिताको परिधिभित्र रहेर आचारसंहिताको ख्याल गर्नुहुन्छ । त्यो पनि कहिलेसम्म प्रचारप्रसार गर्न पाउने हो, त्यसको सीमा निर्धारण पहिल्यै गरिएको छ । त्यो भनेर अब त्यस्तो घटना आउँदैन भन्ने होइन, आउन सक्छन् । तर त्यसलाई तत्क्षणमा नियन्त्रण गर्न हामीसँग साधन सक्षम छ । एकदम सचेत छ । सुक्ष्म ढंगले हेरिराखेको छ । र, यो तत्क्षण नियन्त्रण हुन्छ ।’ गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको उनले बताए । भण्डारीले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताए । निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्