लोकतन्त्र जोगाउन गठबन्धन गरिएको होः डिना

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर १ को गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरिएको बताएकी छिन् । चुनावी अभियान अन्तर्गत सोमबार हेटौंडा–६ र ७ नम्बर वडाको प्रचारप्रसार कार्यालय उद्घाटनमा उनले संसद् र लोकतन्त्र जोगाउन एक भएर गठबन्धन गरेको बताइन् । उनले सबैले इमानदारीपूर्वक गठबन्धनको पक्षमा मतदान गर्ने र जिताउने अभियानमा लाग्नु अहिलेको आवश्यकता रहेका बताइन् । ‘पटकपटक संसद् विघटनको कुप्रयास गर्ने, संविधान मास्न खोज्ने, सबै दल एक भएर मुलुकमा गणतन्त्रका लागि आन्दोलन भइरहँदा नेपालमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमेरिका जानु जस्तै हो भन्दै भाषण गर्ने केपी ओलीलाई भोट हाल्नु सारा नेपालीकै लागि दुःखद् हुनेछ’, उनले भनिन्, ‘संविधान जारी गर्न, संसद् र लोकतन्त्र जोगाउन एकढिक्का भएका नेता र पार्टीहरू मुलुकलाई जोगाउन एक भएर गठबन्धन गरेका छौँ । सबैले इमानदारीपूर्वक गठबन्धनको पक्षमा मतदान गर्ने र जिताउने अभियानमा लाग्नु अहिलेको आवश्यकता हो ।’ चुनावपछि गठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले आफू संसद् बन्नका लागि मात्र नभई जनताको सुख दुःखमा साथै रहने गरी चुनावी अभियानमा सहभागी भएको बताइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्