काठमाडौंका अधुरा विकास परियोजना, उम्मेदवारलाई भोट तान्ने अस्त्र

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । जब जब चुनाव आउँछ । तब तब दलका उम्मेदवारहरुले जनतामाझ भोट आफ्नो पक्षमा हत्याउन विभिन्न आश्वासन बाँडिरहेका हुन्छन् । कतिले यो गर्दिन्छु, त्यो गर्दिन्छु भन्दै मतदातालाई मख्ख पारिरहेका हुन्छन् । र,त्यसरी नै चुनाव जित्ने अस्त्र बनाइरहेका हुन्छन् । यसैबीच, काठमाडौं केन्द्रित उम्मेदवारले पनि विगतमा यस्तै आश्वासन बाँडे र चुनाव जिते । तर, चुनाव अघि बाँडेका आश्वासन पूरा नगर्दा विकासे परियोजना अधुरा र निर्माणमा ढिलाई भइरहेको वर्तमान अवस्था छ । अहिले मुलुकमा संघीयता कार्यान्वयन पछि दोस्रो पटक आसन्न मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ । पाँच दलीय गठबन्धन र नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी चुनावी मैदानमा छन् । काठमाडौंका दश वटा निर्वाचन क्षेत्रमा दलका उम्मेदवारहरु यति बेला चुनावी घरदैलो अभियानमा व्यस्त देखिएका छन् । चुनावी घरदैलो र कार्यक्रममा दलका उम्मेदवार र कार्यकर्ताले खासगरी अधुरा सडक पूर्वाधार, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी निर्माण गर्ने आश्वासन दिलाएर मत तान्ने ध्याउन्नमै छन् । भौतिक पूर्वाधारअन्र्तगत निर्माणधीन र अधुरा विकास परियोजना देखाएर उम्मेदवारहरुलाई आफ्नो पक्षमा भोट तान्न खोजिरहेको देखिन्छ जसमध्ये, काठमाडौं क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेद्वार हुन, पूर्व सभामूख ओनसरी घर्ती । उनले केही दिनअघि चुनावी कार्यक्रममै जोरपाटी–साँखु सडक दुई वर्षमा सम्पन्न गर्न नसके राजीनामा दिने भाषण गरिन् । लामो समयदेखि स्तरोन्नती हुन नसकेको उक्त सडक खण्ड घर्तीले निर्वाचन जितेपछि दुई वर्षमै बनाइदिने आश्वासन मतदाता समक्ष बाँडिन् । त्यतिमात्र होइन्, उनले काटेश्वरको जाम हटाउन पहल गर्ने र मूलपानीमा निर्माणधीन एयरपोर्ट सम्पन्न गर्न आफुलाई भोट दिएर जिताएपछि मात्र सम्भव हुने बताइन् । त्यस्तै, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले समेत केही दिनअघि काठमाडौं क्षेत्र नम्बर २ को चुनावी कार्यक्रममा ओनसरी घर्तीलाई जिताए आफुले विकासे मन्त्रालयको मन्त्री बनाइदिने आश्वासन समेत दिए । यो क्षेत्र यसअघि नेकपा एमालेका तर्फबाट माधवकुमार नेपालले जितेको क्षेत्र हो । अहिले उनी नेकपा एमालेबाट बाहिरिएर नेकपा एकीकृत समाजबादीका अध्यक्ष हुन् भने रौतहट क्षेत्र नम्बर १ मा उनले उम्मेद्वारी दिएका छन् । अहिले यो क्षेत्रबाट नेकपा एमालेले मणिराम फुँयाललाई एकल उम्मेद्वार उठाएका छन् । त्यस्तै, कलंकी–चाबहिल सडकखण्ड पनि दलको उम्मेद्वार चुनावी एजेन्डामा परेको छ । एमालेका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका इश्वर पोखरेल पनि भोट तान्न कलंकी देखि चाबहिलसम्मको सडक छिट्टै ६ लेनको बनाउन पहल गर्ने आश्वासन बाँडिसकेका छन् । बिहीबार काठमाडौं क्षेत्र नम्बर ५ ले आयोजना गरेको एक कार्यक्रममा पोखरेलले एमाले सरकारबाट हटेपछि उक्त सडक खण्डको काम रोकिएको भन्दै भोट दिएर जिताए आफुले ६ लेनको सडक छिट्टै बनाउने घोषणा गरे । उनले धोबीखोला र बिष्णुमति करिडोर छिट्टै निर्माण सुरु गर्ने योजना रहेको सुनाए । उनले सत्ता गठबन्धनका नेताहरुको घर परेका कारण कलंकी–धोबीखोला सडक ६ लेनमा निर्माण रोकिएकाले आफुलाई जिताएमा रोकिएको काम छिट्टै पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यद्यपी, अन्य दलका उम्मेद्वारले पनि सोही सडकखण्ड निर्माणलाई आफ्नो चुनावी एजेन्डामा समेटेका छन् । सो क्षेत्रमा सत्तागठबन्धनबाट तर्फबाट कांग्रेस नेता प्रदीप पौडेलको उम्मेद्वारी छ भने स्वतन्त्रतर्फबाट रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन् । यता, काठमाडौ क्षेत्र नम्बर १ बाट गठबन्धनबाट साझा उम्मेद्वार बनेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि विकासमूखी चुनावी एजेन्डा अघि बढाएका छन् । उनले निःशुल्क वाइफाइ जोनदेखि फ्लाइओभर देखि अण्डरपास निर्माण गर्ने आफ्नो प्रतिवद्धतापत्रमा समेटेका छन् । उनले काठकाडौंको मुख्य सडकमा जाम हटाउन सम्भाव्य ठाउँमा अनिवार्य ओभरहेड र अन्डरपास बनाउने गरि मतदातासमक्ष प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् । यता, काठमाडौं क्षेत्र नम्बर ४ बाट गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपन र बुढानीलकण्ठ क्षेत्रमा पर्ने सडक निर्माण र स्तरोन्नती गर्ने लगायतका चुनावी एजेन्डा अघि सारेका छन् । विगतमा पनि उनले त्यस क्षेत्रका जनतालाई कपन र बुढानीलकण्ठ क्षेत्रमा पर्ने बाहिरी र भित्री सडक निर्माणमा ढिलाइ भएकोप्रति सडक विभागमा पुगेर धर्ना दिने काम समेत गरेका थिए । अहिले पनि ती सडक निर्माण र स्तरोन्नतीसँगै विस्तार गरिदिन्छु भनेर उनी मतदाताका घरदैलोमा पुगिरहेका छन् । यसरी हेर्दा, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट उठ्ने उम्मेद्वारले कहीँ न केहीँ, केही न केही रुपमा विकासे परियोजना(सडक, पुल, सुरुङमार्ग, मेट्रोरेल, मोनोरेल, विमानस्थल, विद्यालय, स्वास्थ्य संस्था, फुटपाथ) लगायतलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्