देउवाको आग्रह : गठबन्धनकै उम्मेदवारलाई मत हाल्नू

बिहीबार, मंसिर १, २०७९
पोखरा–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिमा हिजोका कुरा सम्झेर अगाडि बढ्न नसकिने बताएका छन् । शुक्रबार पोखरामा सत्ता गठबन्धन दलको संयुक्त कार्यकर्ता प्रशिक्षण दिँदै प्रधानमन्त्री देउवाले गठबन्धनका कार्यकर्ताले हिजोका कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति आउन नहुनेमा जोड दिए । ‘अहिलेका आवश्यकता गठबन्धन सरकार हो । गठबन्धनका उम्मेदवारलाई असहयोग गर्ने कुरा तपाई नगर्नुस्’, देउवाले चेतावनीयुक्त भाषामा भने । टिकट नपाएको बाहनामा गठबन्धनका साझा उम्मेदवारलाई शंका उपशंका गर्ने बन्द गर्न पनि देउवाले कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देश गरे । गठबन्धनका सबै दलमा केही नेताले टिकट नपाएको असन्तुष्टि रहे पनि त्यसलाई बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न देउवाले आह्वान गरे । ‘सिट बाँडफाँटमा म त डराएको थिएँ । सबै पार्टीमा टिकट नपाएको असन्तुष्टि छ । तपाईंहरु आफ्नो कर्म गर्नुस् । भोलि अवसर एकपटक पक्कै आउँछ । गठबन्धन यही तरिकाले अगाडि बढे जित निश्चित छ ।’ गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने उनले बताए । ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, देउवाले भने, सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’ फरक राजनीतिक दर्शन बोकेका माओवादी अध्यक्ष प्रचण्ड र आफूबीच नै सहमति भइसकेपछि कार्यकर्ता पंक्ति झन मिल्नुपर्ने उनको तर्क थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्