गठबन्धनलाई मत नहाले पाप लाग्छ : प्रचण्ड

बिहीबार, मंसिर १, २०७९
पोखरा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाल्न गठबन्धनमा आवद्ध सबै दलका कार्यकर्तालाई आग्रह गरेका छन् । उनले गठबन्धनका दललाई गठबन्धनकै पार्टीका मतदाताले मत नदिए पाप लाग्ने बताए । ५ दलीय गठबन्धनका उम्मेदवारलाई मत नहाल्ने र आफ्नै चुनाव चिन्हमा मत हाल्ने भन्दै केही कांग्रेसीहरूले अभियान चलाएको सन्दर्भमा उनले त्यसो गरे पाप लाग्ने टिप्पणी गरे । पोखरामा शुक्रबार आयोजित ५ दलीय गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाति हुन्छ, गठबन्धनलाई स्वीकार गरौं’ । उनले भने, ‘यहाँ हसियाँ हथौडामा भोट हाल्नेले रुखमा र रुखमा भोट हाल्नेले हसिया हथौडामा र कलममा हाल्न गाह्रो भएको सुनेका छौँ, गठबन्धनले गर्दा सबैको चिन्ह स्वीकारेका हौँ ।’ कास्कीको प्रतिनिधिसभाको ३ वटा क्षेत्रमध्ये कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले १–१ सिट बाँडेका छन् भने प्रदेशमा कांग्रेसले ३ र माओवादीले ३ सिट लिएका छन् । प्रचण्डले चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन पनि आग्रह गरे । कतिपयलाई गठबन्धनको अर्को दलको चुनाव चिह्न स्वीकार गर्न गाह्रो भएको उल्लेख गर्दै उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको हो । यसको लाभ पनि दलहरूले पाएका छन् ।’ ‘स्थानीय तहको चुनावमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्