महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस

बिहीबार, मंसिर ८, २०७९
म्याग्दी–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनल खेल सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच हुने भएको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् । सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३ का विरुद्ध २५ ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमशः २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित ग¥यो । सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतीको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित ग¥यो। कमला र अरुणा दुवै म्याग्दीका हुन् । तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । यसैगरी सशस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ । असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलबाट बाहिरिएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२९
प्रतिक्रिया दिनुहोस्