जसपाको घोषणापत्र तयार

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गरेको छ । प्रतिवद्धता पत्र भनिएको ३६ पृष्ठ लामो घोषणापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक लक्ष्यको रुपमा प्रस्तुत गरिएको छ । जसपाले ‘सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान’ लाई पार्टीको चुनावी मूल नारा बनाएको छ । प्रतिवद्धतापत्रमा कम्युनिष्ट पार्टीलाई ‘कमाउनिष्ट’ को संज्ञा दिइएको छ । ‘नेपालमा पनि धेरैथरि कम्युनिष्ट पार्टीहरुले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन् । तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन्,’ प्रतिबद्धतापत्रमा भनिएको छ । जसपाले कांग्रेस पुँजीवादी उदारवादी विचारधारा बोक्ने पार्टी भए पनि यो इतिहासकै ब्याजमा धानिएको र पारम्पारिक राजनीति गरिरहेको विश्लेषण गरेको छ । जसपाको निष्कर्ष छ, ‘यो पार्टीले अहिलेको वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत राख्दैन ।’ प्रतिवद्धतापत्रमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्न जसपा पार्टी आवश्यक पर्ने दावी गरिएको छ । जसपाले संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रलाई राजनीतिक गन्तव्य बनाउने उल्लेख गरेको छ । हाम्रो पार्टी प्रशासनिक सङ्घीयताको विकल्पमा राष्ट्रिय पहिचानसहितको सङ्घीयताको ढाँचामा पुनः राज्यको पुनर्संरचना गर्ने सङ्कल्प प्रस्तुत गर्दछ’, प्रतिबद्धतापत्रमा लेखिएको छ । जसपाले संविधान संशोधन र परिमार्जन तथा पुनर्लेखनलाई पनि आफ्नो चुनावी नारा बनाएको छ । पार्टीले समावेशी विकास र समतामूलक समृद्धिका लागि काम गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । ‘अब देशमा व्याप्त गरिबी, बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गराउनु राज्यको प्राथमिक दायित्व हुनेछ’, प्रतिबद्धतापत्रमा भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्