सभापति देउवा र म मिलिसक्यौँ : डा. कोइराला

बिहीबार, मंसिर १, २०७९
विराटनगर–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै झगडा नरहेको बताएका छन् । डा. कोइरालाले सभापति देउवा पक्षका नेता कार्यकर्तासँग गुटगत झगडा नगर्न पनि आग्रह गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर पछिल्ला दिन काम भइरहेको भन्दै तल्ला तहका नेता कार्यकर्ता झगडा गर्नुको कारण नबुझेको पनि बताए । मोरङको सुन्दरहरैँचा–५कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘स्थानीय निर्वाचजनमा के भयो, अधिवेशनमा के भयो, ती सबै तुषलाई तपाईंहरुले त्यागौँ । मैले त त्यागिसकें । तपाईंहरुले किन नत्याग्ने?’ कोइरालाले आफू पक्षीय नेता कार्यकर्तालाई भने, ‘शेरबहादुरजी र म सँगै लडेको होइन, गुट बनाएको होइन? त्यो माथि लगेकै होइन? उनले आफू र शेरबहादुर देउवा मिलिसकेपछि झगडाको अर्थ नभएको पनि बताएका छन् । ‘शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन झगडा गरिरहनुभएको छ? त्यो मैले बुझ्न सकिरहेको छैन,’ उनले भने । कोइरालाले आफू र सभापति देउवाबीच पछिल्ला दिन सल्लाहमै काम भइरहेको पनि दाबी गरे । उनले भने, ‘म पटक–पटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु, मेरो कुरा सुनिरहनुभएको छ, मेरो कुरा मानिरहनुभएको छ । अनि तपाईँहरु तल किन लडिरहनुभएको छ । के को लडनुहुन्छ? के पाउनुहुन्छ?’ नेता कोइराला मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन् । उनी आफूलाई २०७४ मा पराजित गर्ने नेकपा एमालेका नेता लालबाबु पण्डितसँगै फेरि भिड्दैछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्