सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ । उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारीस्थित भूगोल पार्कमा कार्यालयको सञ्चालनमा ल्याएको हो । कार्यालय उद्घाटन गर्दै गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार तथा एकीकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले देश र जनता पहिलो हो भन्ने मान्यतालाई अघि बढाएर गठबन्धनलाई जिताउनु पर्ने बताए । उदयपुर २ को प्रदेश सभा २ तर्फका उम्मेदवार नेपाली काँग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार खत्रीले मतरूपी आशीर्वादले जितेर गएपछि शान्ति र स्थायित्वको लागि सफल हुन चाहेको बताए । बैठकले १५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । समितिको संयोजक मोहनबहादुर खत्री, सह संयोजक राजेशचन्द्र श्रेष्ठ र सचिव बेगबहादुर आले रहेका छन् । बैठकको निर्णय सुनाउँदै संयोजक खत्रीले टोल तहसम्म मातहतका समिति गठन गर्न सकिने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्