जबसम्म लोकतन्त्रमाथि खतरा रहन्छ, तबसम्म गठबन्धन रहन्छ : प्रचण्ड

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् । गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाबका लागि मात्र नभएर उपलब्धिको रक्षाका लागि पनि गठबन्धन रहेको बताए । ‘संविधान घोषणा भएको केही वर्षमै देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकै कारणले हामी सडकमा गयौँ।’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले निर्वाचनको लागि गठबन्धन गरेको होइनौँ । संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको लागि गरेका हौँ। जबसम्म लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता रहन्छ।’ अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक दायित्व भएको भन्दै अहिलेसम्मको उपलब्धिसँग आर्थिक क्रान्ति गर्न नसके केही वर्षमा दुर्घटना पर्ने दाबीसमेत गरे । उनले भने, हामीले मंसिर ४ को निर्वाचनलाई सदुपयोग गर्नुपर्छ। गठबन्धन गर्नका लागि धेरै मेहनत गरेका छौँ । अहिले पनि धेरै मेहनत परेछ । यो निर्वाचनको माध्यमबाट बन्ने सरकार आर्थिक क्रान्तिको नेतृत्व गर्ने भिजनसहितको सरकार बनोस् भन्ने उद्देश्य हो ।’ गठबन्धनले आर्थिक क्रान्तिको नेतृत्व गर्ने भिजनसहितको सरकार बनाउने अध्यक्ष प्रचण्डको भनाइ थियो ।  गृह जिल्ला चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ पुगेका प्रचण्डले आफ्नो निर्णयमा मतदाताले शंकाको नजरले हेरेको भन्दै यस्तो बताएका हुन्। 'मलाई निर्वाचन लड्न रुकुम पूर्वबाट गम्भीरताका साथ डेलिगेशन आएको थियो। त्यहाँ आउन दबाब थियो। कालिकोट र रुकुम पश्चिममा आउन अनुरोध आएको थियो। सिरहा आउनु भन्ने पनि थिए', उनले भने, 'तर मैले अब जानुपर्ने गोरखा नै हो भनेर आएँ। गोरखाली जनताको भावनालाई सम्मान गर्न र इतिहासको पनि सम्मान गर्न गोरखा आएँ।'
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्