अबदेखि मङ्सिरभित्रै योजना सम्झौता

बिहीबार, मंसिर ८, २०७९
बागलुङ–योजना तथा बजेट कार्यान्वयमा बागलुङ नगरपालिकाले कडाइ गर्ने भएको छ । साउनदेखि नै नयाँ आवको बजेट कार्यान्वयन सुरु गरी मङ्सिर मसान्तभित्रैमा योजना सम्झौताको नीतिगत प्रबन्ध गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले आव २०७९र८० को स्वीकृत नीति, कार्यक्रम र बजेटमा सो प्रावधान रहेको उल्लेख गरे । मङ्सिर मसान्तसम्ममा सम्झौता नभएका र खरिद प्रक्रियामा नगएका सर्शततर्फका योजनाबाहेकको बजेट स्थानीय सञ्चित कोषमा जाने उनको भनाइ छ । हिउँदे अधिवेशनबाट स्वीकृत भएका र सशर्ततर्फका योजना पनि फागुन मसान्तभित्रैमा सम्झौता गरिसक्नुपर्ने जनाइएको छ । ‘योजना सम्झौता ढिलो हुने, आर्थिक वर्ष घर्किन लागेपछि काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कार्यान्वयन प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो’, प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘यसले कामको गुणस्तरदेखि खर्च र भुक्तानी प्रणालीमा पनि सकारात्मक टेवा दिन्छ ।’ योजना कार्यान्वयनलाई सहज बनाउन घुम्ती शिविर गरेर वडा तहबाटै योजना सम्झौता गरिने नगरपालिकाले जनाएको छ । श्रममूलक र साना योजना तथा कार्यक्रम सञ्चालन गर्दा टोल विकास संस्था र उपभोक्ता समितिबाट गराइने भएको छ । यसरी गर्दा योजनामा उपभोक्ताको लागत सहभागितालाई पनि २० प्रतिशतबाट घटाई १५ प्रतिशत कायम गरिएको छ । महिलाको नेतृत्वमा रहेको टोल विकास संस्था र उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गर्दा १० प्रतिशतमात्र लागत सहभागिता तोकिएको छ । बेलैमा सम्झौता गरेर मात्र योजना कार्यान्वयनमा जान नगरपालिकाले लाभग्राहीलाई सचेत बनाएको छ । लागत अनुमानभन्दा फरक पर्ने गरी काम भएमा त्यसको भुक्तानी दिन नसकिने नगरपालिकाले स्पष्ट पारेको छ । बेला छँदा नगरी आवको अन्त्यतिर एकैचोटी योजना सम्झौता र कार्यान्वयन गर्दा कामको गुणस्तर खस्कने गरेको जनगुनासो छ । त्यसकै कारण सेवाप्रदायकलाई असार मसान्तमा कामको चाप बढी हुन्छ । कतिपय योजनाको फरफराकमै गञ्जागोल उत्पन्न हुने गरेको छ । नगरप्रमुख वसन्तुकुमार श्रेष्ठले समयमै बजेट तथा कार्यक्रम कार्यान्वयन हुन नसक्दा नगरको सेवा प्रवाहमा चुनौती थपिने गरेको बताए । विगतको अनुभवबाट सिकेर अबदेखि आवको सुरुदेखि नै बजेट र कार्यक्रमलाई कार्यान्वयनमा लैजान लागिएको उनको भनाइ छ । त्यसकै लागि आव सुरु नहुँदै शुक्रबार नगरपालिकाको स्वीकृत नीति, कार्यक्रम, योजना र बजेटको किताब सार्वजनिक गरिएको नगरप्रमुख श्रेष्ठले बताए । अघिल्ला वर्षमा आव सुरु भएको लामो समयपछि बल्ल बजेट किताब आउँथ्यो । योजना व्यवस्थापनलाई प्रभावकारी बनाउन सेवा प्रवाहको विधि र प्रक्रियामासमेत फेरबदल गरी ‘फ्रन्ट डेस्क’मार्फत सेवा दिइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिलोपटक नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र पनि जारी गरेको छ । नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र जारी गरिएको हो । समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना तय गर्न श्वेतपत्रले आधार तयार गर्ने उनको भनाइ छ । नगरको यथार्थ स्थितिबारे नगरवासीलाई सुसूचित गर्नका साथै संस्थागत सुशासन कायम गर्न पनि श्वेतपत्रले सघाउने विश्वास लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्