स्कटल्याण्ड र क्यानडामा हुने सिरिजका लागि नेपाली क्रिकेट टिम घोषणा

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिज र क्यानडामा हुने दुई वटा एकदिवसीय अभ्यास सिरिजका लागि नेपाल टिम घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा आइतबार १४ सदस्यीय टिम घोषणा गरेको हो। नेपाली टिममा यसअघि अमेरिकामा सिरिज खेलेका तीन खेलाडी परिवर्तन गरिएको छ । अमेरिका भ्रमणमा रहेका सुनिल धमला, सुशन भारी र सागर ढकाल यसपटक टिममा परेनन् । पवन सर्राफ र वासिर अहमद टिममा परेका छन् ।

स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-२ का ४ खेल खेल्ने छ । नेपालको पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ ।

यसअघि क्यानडामा नेपाल र घरेलु टोलीबीच हुने भनिएको २ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि जुन २८ र जुन २९ मा नेपाल र क्यानडाबीच दुई खेलको टी-ट्वान्टी सिरिज हुने तालिका रहेको थियो।

क्यान अनुसार अब नेपाल र क्यानडाबीच दुई खेलको एकदिवसीय सिरिज हुनेछ।

नेपाल र क्यानडाबीच जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज हुने छ। एकदिवसीय सिरिज अघि नेपाल र क्यानडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ । नेपाली टिम जुन २८ मा क्यानडा पुग्ने तालिका छ।

अमेरिकामा भएको लिग-२ को ओमानसमेत सम्मिलित शृङ्खलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग-२ मा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

नेपाली टिम- सन्दीप लामिछाने, रोहित पौडेल कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्