आईपीएलमा पन्जाबको सुखद अन्त्य

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अन्तिम लिग खेलमा पन्जाब किङ्सले जित निकाल्दै सुखद अन्त्य गरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले सनराईजर्स हैदरावादलाई ५ विकेटले हराएको हो । हैदरावादले दिएको १ सय ५८ रनको लक्ष्य पन्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पन्जाबका लागि लियाम लिभिङस्टोनले अविजित रहदै ४९ रन जोडे । शिखर धवनले ३९ रन जोड्दा जोनी बेयर्स्टोले २३ रन बनाए । हैदरावादका फाजल्हक फारुकीले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो । हैदरावादका अविशेक शर्माले ४३ रन जोड्दा रोमारियोले अविजित २६ रन जोडे । वासिङ्गटन सुन्दरले २५ रन जोडे । पन्जाबका नाथन एलिस र हरप्रित ब्रारले ३/३ विकेट लिए । यस जितसँगै पन्जाबले १४ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रह्यो । हैदरावाद १२ अंक जोडेर आठौं स्थानमा रह्यो । आईपीएल अन्तर्गत अब प्लेअफका खेल हुने छन् । गुजरात टाइटन्स सर्वाधिक २० अंकका साथ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्दा राजस्थान रोयल्स १८ अंकका साथ दोस्रो स्थानमा छ। समान १८ अंक रहेको लखनऊ सुपर जायन्ट्स तेस्रो स्थानमा रहँदा १६ अंक रहेको रोयल च्यालेन्जर्स बैंग्लोर चौथो स्थानका साथ प्लेअफमा पुग्न सफल भएको थियो। पहिलो क्वालिफायरमा गुजरात र राजस्थानबीच प्रतिस्पर्धा हुने छ । पहिलो क्वालिफायरमा पराजित हुने टिमले एलिमिनेटर राउण्डमा भिड्ने लखनऊ र बैंग्लोरको बिजेतासँग फाइनल प्रवेशका लागि फेरि मौका पाउने छ। पहिलो क्वालिफायरमा विजयी हुने टिम भने सिधै आईपीएलको फाइनलमा पुग्ने छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५२
प्रतिक्रिया दिनुहोस्