भरतपुरका बागी उम्मेद्वार पौडेलले गृहमन्त्रीलाई भने, ‘उम्मेदवारी फिर्ता नलिने ठाउँमा पुगिसकेको छु’

बिहीबार, मंसिर १, २०७९
चितवन - चितवनको भरतपुरमा बागी उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणले गरेको प्रयास असफल भएको छ । चितवन पुगेर खाँणले नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई बागी उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए । उनले आफू कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडानमा रहेको बताउँदै कांग्रेस बचाउन आफूले उम्मेदवारी दिएको जवाफ दिएका छन् । ‘उम्मेदवारी फिर्ता गरिदिनुस् भन्ने गृहमन्त्रीको आग्रह थियो, चितवनका कांग्रेस कार्यकर्ताको भावना र प्रतिष्ठाको विषय जोडिएको हुँदा यो निणर्य लिन सक्दिनँ भनें, म उम्मेदवारी फिर्ता नलिने ठाउँमा पुगिसकेको छु ।’ खाँणसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि केही दिनदेखि चितवनमै छन् । चितवनमा कांग्रेसले माओवादी केन्द्रलाई मेयर दिएर गठबन्धन गरेको छ । माओवादीका तर्फबाट रेणु दाहालले मेयरमा उम्मेदवार दिएकी छन् । यसअघि कांग्रेसका बागी उम्मेदवार पौडेललाई चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि उम्मेदवारी फिर्ता लिई दिन अनुरोध गरेका थिए । यस्तै आज (बिहीबार) प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बागी उम्मेद्वारी फिर्ता लिन अपिल गरेका छन् । उनले कांग्रेसका योग्य साथीहरु अवसरबाट बञ्चित भएको कुराको आफू जानकार रहेको बताउँदै ‘साथीको उम्मेद्वारी नै मेरो उम्मेद्वारी’ भन्ने सम्झिएर गठबन्धनका उम्मेद्वारलाई सहयोग गरी विजयी गराउन आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्