धर्मेन्द्र र सुदर्शन पार्टी निर्णय विपरीत गएकाले कारवाही : विप्लव

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णय विपरीत गतिविधिमा गएकाले कारवाही गरेको स्पष्ट पारेका छन् । महासचिव विप्लवले ओली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्य मान्यता भत्काउने कार्य गरेकाले पार्टीबाट मदमुक्त गर्नु परेको उनले बताएका छन् । उनले काठमाडौंमा सचिवालयका सदस्यहरु दुई पटक बसेर पार्टीका पारित निणर्यहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरे पनि त्यसको विपक्षमा ओली र बास्तोला उभिएको बताएका छन् । ‘तर निणर्य बाहिर नपुग्दै पुन उहाँहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवम् अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नुभयो । तैपनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवालय सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो’, विप्लवले भनेका छन् । ‘सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र हो । यो समस्याको चुरो कुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदा देखि नै सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए’, प्रष्ट पार्दै विप्लवले भनेका छन्, ‘सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाँले नै पार्टीको सुझाव विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गम्भीर छलफल भए । ’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्