टिकट वितरणमा आर्थिक चलखेल भयो, चुनावपछि समीक्षा हुन्छ : शेखर कोइराला

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा जिम्मेवारी पाएका व्यक्तिहरुले पार्टी कार्यकर्ताहरुप्रति समानरुपले न्याय गर्न नसकेको टिप्पणी गर्नु भएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेता कोइरालाले टिकट वितरणमा पार्टीले न्याय गर्न नसक्दा जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य–पद्धति र आदर्शप्रति समर्पित नेता–कार्यकर्ता अन्य पार्टीमा ओत लाग्न पुगेको उल्लेख गरेका छन् । स्वतन्त्र उमेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य नेता–कार्यकर्तालाई उनले कांग्रेसको मुल प्रवाहमा फर्किन आग्रह गरेका छन् ।

‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा साथीहरूबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न सक्नुभएन ।’

त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितताका कुराहरू सार्वजनिक भइरहेको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिने बताएका छन् । साथै पार्टी हितलाई सर्वोपरी ठान्दै तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिन आह्वान गरेका छन् ।

नेता कोइरालाले आफूसँग असहमत भएकै कारण कयौँ नेता, कार्यकर्ताहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

कयौँ नेता, कार्यकर्तालाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर उनीहरुको राजनीति हत्या गर्ने षड्यन्त्र पनि भएका उल्लेख गर्दै कोइरालाले पार्टी भित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनु पर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्