रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताको सामूहिक राजीनामा, टिकट वितरणमा असन्तुष्ट

बिहीबार, मंसिर १, २०७९
तनहुँ - नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले मङ्गलबार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीबाट रुष्ट भएकाले पत्रकार सम्मेलनपश्चात पार्टी सभापति जीतप्रकाश आलेसमक्ष उनीहरुले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा कांग्रेस निवर्तमान सचिव बाँस्तोलाले पार्टीभन्दा पनि नेताको प्रवृत्तिले कार्यकर्ताहरु रुष्ट बनेपछि राजीनामा दिएको बताए । दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसक्नुभएका बाँस्तोलाले पार्टीभित्र दास प्रवृत्ति मौलाउँदै गएपछि पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएका हुन् । “पार्टीभित्र देखिएका कमीकमजोरी औँल्याउँदा उल्टै दुश्मनको व्यवहार सहनुपरेकाले राजीनामा दिने योजना बनाएका हौँ”, उनले भने, “पुनः पार्टीमा फर्किने भन्ने योजना भने रहेको छैन ।” पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको अवस्थामा त्यसलाई चिर्दै अघि बढ्नुपर्छ भनेर सक्रिय भूमिका खेल्दै आए पनि पार्टीभित्र त्यो सह्य नभएको उनले बताए । कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराईले पार्टीलाई कमजोर बनाउँदै गएकाले टुलुटुलु हेरेर बस्नुभन्दा स्वतन्त्र जीवन बिताउन चाहेकाले राजीनामा दिएको बताए । उनले शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेद्वारी दिएको पनि सो अवसरमा बताए। कांग्रेस व्यासनगर समितिका निवर्तमान सचिव चूडामणि दाहालले बिपीको सिद्धान्तअनुरूप पार्टी नचलेको र आफ्ना केही आसेपासेलाई मात्रै काखी च्याप्ने प्रवृत्ति बढेकाले स्वतन्त्र भएर बस्ने इच्छाअनुरूप राजीनामा दिइएको बताए । व्यास नगरपालिका–३ का पूर्ववडासभापति बाबुराम बगालेले आफूले पार्टीबाट राजीनामा नदिए पनि रुष्ट रहेको बताए । पार्टीभित्र धेरै पटक सुझाव राखे पनि बेवास्ता गरिएकाले असन्तुष्ट भएको उनले बताए । शुक्लागण्डकी नगरपालिकाका नगरसचिव दीपेन्द्र पौडेलले पार्टीमा कुसंस्कारबाट घुसेकोले सहन नसकी स्वतन्त्र उम्मेदवारका रूपमा शुक्ला–१ बाट उम्मेदवारी दिएको बताए । सो अवसरमा दीर्घबहादुर थापाले पनि राजीनामा दिएर व्यासनगर–२ बाट वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्