वीरगञ्ज महानगरपालिकामा एमाले र लोसपा गठबन्धन 

बिहीबार, मंसिर १, २०७९
वीरगञ्ज – स्थानीय चुनावको मिति नजिकिएसँगै देशका मुख्य ६ महानगरपालिकाहरूका सत्ता गठबन्धन तथा प्रतिपक्षी एमाले लगायतका दलहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दौडधुपमै लागिरहेका छन् । त्यसमध्येको वीरगञ्ज महानगरपालिकालाई हासिल गर्न दुवै पक्षले आ–आफ्नो तर्फबाट कसरत गरी रहेका छन । चुनाव जित्न सत्ताधारी दलहरू गठबन्धन गरेर अगाडि बढ्ने घोषणा गरेलगत्तै वीरगञ्ज महानगरपालिका आफ्नो पोल्टामा पार्न एमाले र लोसपाले पनि गठबन्धन गरी अगाडि बढ्ने घोषणा गरेको छ । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरूले तालमेल गरी अगाडि बढ्ने एमालेले जनाएको छ । दुवै पार्टीका नेताहरूले बिहीबार संयुक्त रुपमा वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी चुनावी गठबन्धन भएको जानकारी गराए । तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनमा एमाले मधेश इन्चार्ज रघुवीर महासेठले यो गठबन्धन पार्टीको फाइदा भन्दापनि प्रतिपक्षमा रहेका दलविरुद्ध परमादेशबाट बनेको अपवित्र गठबन्धनको सरकार विरुद्ध रहेको बताए । उनले देशको गणतन्त्र र प्रजातन्त्र मास्न गठबन्धनका नेताहरू देशी विदेशीको इसारामा लागि परेको आरोप समेत लगाए । गणतन्त्र र प्रजातन्त्र बचाउनुका साथै वीरगञ्जका समृद्धिका लागि नेकपा एमाले र लोसपाबीच चुनावी गठबन्धन गर्ने बताए । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं संसदीय सुनवाई समितिका सभापति लक्ष्मणलाल कर्णले एमाले र लोसपाबीच कुनै नयाँ गठबन्धन नभई पुरानै गठबन्धन रहेकाले अहिले स्थानीय तहको चुनावमा नवीकरण मात्रै गरेको बताए । उनले वीरगञ्ज महानगरपालिकालाई मुख्य लक्षित गरेर यो गठबन्धन गरेको र अन्य निकायमा पनि गठबन्धन गर्ने प्रकृयामा रहेको बताए । गठबन्धन घोषणा भएपछि संयुक्त रुपमा निर्वाचन परिचालन समिति समेत गठन गर्ने पनि जनाइएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्