ओलीको आरोप : एमाले सरकार ढाल्न वामदेव, झलनाथ र माधवको मुख्य भूमिका

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन आफ्नै पार्टीका केही र माओवादीका नेताहरुले ‘लिखत’ लिएर बैठकमा आएको बताएका छन् ।

पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले एमालेको सरकार ढाल्न सबैभन्दा ठूलो रहेको आरोप लगाए । ‘त्यति बेला नेकपा एमालेलाई ढाल्ने कुरामा, एमालेको नेतृत्व हुन नदिने कुरामा एमालेको नेतृत्व पंक्तिमा रहेका माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरुको ठूलो भूमिका थियो,’ ओलीले भने, ‘दुई वर्षका लागि हामीले नेतृत्व गर्ने र निर्वाचन गराउने भन्ने सहमति माओवादीसँग भएको हो । यी सब नेताहरुले केपी ओलीले धोका दियो, बेइमानी गर्‍यो, आदि इत्यादी कुरा गरे ।’ उनले एमाले र माओवादीका केही नेताहरु लिखत लिएर आएको दाबी गरे ।

‘त्यतिबेला एमालेका केही र माओवादीका नेता एउटा लिखत लिएर आएका थिए । केपी ओलीलाई तत्काल हटाउने होइन भने बजेट पेश गरे लगत्तै हटाउने भन्ने कागज लिएर आएका थिए,’ ओलीले थपे, ‘मैले त्यो कागज फ्याट्ट समाएर फालिदिएँ । यस्ता कागज गरेर केपी ओली पदमा बस्छ ? कुर्सीमा टाँसिन यस्ता कागजमा केपी ओलीले तमसुक गरेर हिंड्छ भनेर मैले फालिदिएको थिएँ ।’

प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्न ओलीको निर्देशन एमाले अध्यक्ष ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिएका छन् । उनले यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिएका हुन् ।

‘यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नु भएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला’, उनले भने, ‘प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।’

उनले संसद् विघटन नगरेको भए प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी बदनाम हुने दाबी गरे । उनले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर पनि गरे ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्