काठमाडौंको मेयरका लागि कांग्रेसबाट पाँच जनाको नाम सिफारिस

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले काठमाडौंको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको महानगर कार्यसमितिको बैठकले पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको सभापति नीलकाजी शाक्यले जानकारी दिए । मेयरका लागि दाबी गरेका पाँचै जनाको नाम सिफारिस गरिएको उनले बताएका छन् । काठमाडौंबाट मेयरका लागि सिफारिस हुनेमा हरिप्रभा खड्गी, नीलकाजी शाक्य, सुसन वैद्य, सिर्जना सिंह र प्रगतिमान रञ्जित रहेका छन् । हरिप्रभा खड्गी वर्तमान उपमेयर हुन् । त्यस्तै, शाक्य कांग्रेस महानगर कार्यसमितिका सभापति र वैद्य सचिव हुन् । सिंह नेपाल महिला संघकी पूर्व सभापति हुन् । कांग्रेस नेता गणेशमान सिंहकी बुहारी सिंह पछिल्लो समय राजनीतिमा सक्रिय थिइनन् । रञ्जित कांग्रेस महानगरको गत अधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए । सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको तालमेलको सहमति अनुसार काठमाडौंको मेयरको उम्मेदवार कांग्रेसको भागमा परेको छ । उपमेयरको उम्मेदवार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्