एमाले र सूर्य चिन्ह सिध्याउन हिंडेकाहरुको थुतुनो जल्यो : ओली

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिन्ह सिध्याउँछु भनेर हिंडेकाहरुको थुतुनो जलेको बताएका छन् । आज (बिहीबार) केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपाका नेताहरु माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनीहरुको थुतुनो जलेको बताएका हुन् । ‘एमालेको सूर्य चिन्ह सिध्याउँछु भनेर खान हिंडेकाहरूको थुतुनो जलेको छ’, ओलीले आफूविरुद्ध १९ पृष्ठ लामो आरोपको पुलिन्दा अघि सारिएको पनि बताए । उनले नेकपाको एकता जोगाउन धेरै प्रयास गरे पनि सफल हुन नसकेको बताए । उनले २८ वर्षसम्म पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका केही नेताहरु एमाले ध्वस्त पार्छौ भनेर छोडेको अवस्थामा आज पार्टीको वैचारिक स्पष्टता, सांगठनिक सुदृढता हुनु कम चुनौतिपूर्ण नभएको बताए । ‘हामी विशेष परिस्थिति र अत्यन्तै सफलताका साथ अघि बढिरहेका छौ । चुनौति र व्यवधान खडा गर्न खोजिएको छ’, अध्यक्ष ओलीले भने । उनले एमालेले लिएको नीति र विचारले देशलाई विकास र सुशासन दिनसक्छ भन्ने पुष्टि भएको दावी समेत गरे । ‘नीतिगत रुपले एमालेले देशलाई चौतर्फी ढंगले अघि बढाउन सक्छ । देश विकास र सुशासनलाई अगाडि बढाएर समृद्ध नेपाल, सुखी नेपाली बनाउन सक्छ भन्ने आम विश्वास बढेको छ’, अध्यक्ष ओलीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्