प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सल्लाहमा गभर्नरको निलम्बन : प्रचण्ड

बिहीबार, मंसिर १, २०७९

कैलाली - सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर निलम्बन प्रक्रियामा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् ।

आज कैलालीको धनगढीमा भएको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्माबीचमा सल्लाह भएको बताएका हुन् । ‘शुरुबाटै गभर्नर अधिकारी र सरकारका बीचमा समस्या देखिएको हो’ प्रचण्डले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निणर्य गरेको प्रष्ट भइसकेको छ । थप १३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ ।’

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्च अदालतको आदेशपछि हिजोदेखि काममा फर्किएका छन् । गभर्नर अधिकारी काममा फर्किएपछि अर्थमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको बचाउ गर्दै प्रधानमन्त्रीको सल्लाहमा निणर्य भएको बताएका हुन् । यस्तै, चुनावी प्रसङ्गमा अध्यक्ष प्रचण्डले बाहिर हल्ला गरिएजस्तो चुनाव नसर्ने बताए । लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउनु अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्