स्थानीय तह निर्वाचन : आजदेखि सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुल्ने

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - आसन्न स्थानीय तह निर्वाचनको लागि देशका ७५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदैछ । निर्वाचन आयोगले प्रशिक्षण दिएपछि मुख्य निर्वाचन अधिकृत, कार्यालय सञ्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत र कर्मचारी पुगिसकेका निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रशिक्षण दिएर अधिकृत र कर्मचारीलाई स्थानीय तहमा खटाएको हो ।

उनीहरुले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा रहेर पालिकामा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्ने आयोगले जनाएको छ । उनीहरुले चुनावको सबै तयारीदेखि लिएर आचारसंहिताको अनुगमन, मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न देशका ७७ वटै जिल्लाका न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । ३० वैशाखमा हुने स्थानीय तह चुनावको लागि यही ११ र १२ गते उम्मेदवारी दर्ता हुँदैछ ।

त्यसैगरी वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यसैगरी १७ गते आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब खर्च हुने आकलन गरिएको छ । आयोगले मतदाता शिक्षा, मतपत्रको छपाइ, ढुवानी, निर्वाचन पर्यवेक्षण र मतदानमा खटिने कर्मचारीहरूको तलब र भत्तामा त्यति रकम खर्च हुने अनुमान गरेको छ । निर्वाचन आयोगले आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने निणर्य गरेको छ । स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगको आंकलन छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्