रसुवा कांग्रेस आफू कमजोर रहेको दुई पालिकामा मात्र गठबन्धन गर्ने पक्षमा

बिहीबार, मंसिर १, २०७९

रसुवा - रसुवामा नेपाली कांग्रेसले दुई पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने जनाएको छ । जिल्लाको कुल पाँच पालिकामध्ये काँग्रेसले आफू कमजोर रहेको दुई वटा पालिकामा मात्र तालमेल गर्ने इच्छा व्यक्त गर्दै आएको छ । पछिल्लो समय काँग्रेसको अवस्थामा निकै सुधार आएकाले जिल्लाका सबै पालिकामा गठबन्धन गर्न नपर्ने नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए । रसुवामा गाउँपालिका मात्र छन् । ती पालिकामा विगतको निर्वाचनको तुलनामा अहिले काँग्रेसको सांगठनिक अवस्थामा निकै नै सुधार आएको भन्दै उनले आफू केही कमजोर रहेको दुई वटा पालिकामा मात्र गठबन्धन गर्न तयार रहेको बताए ।

जिल्लाको कालिका गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा मात्र गठबन्धन गर्ने सोचमा रहेको सभापति तामाङको भनाइ छ । विगतको निर्वाचनमा ती दुई गाउँपालिकाको अध्यक्षमा क्रमशः एमाले र नयाँ शक्ति नेपालले चुनाव जितेका थिए । ती दुई गाउँपालिकामा काँग्रेसको अवस्था सुधारोन्मुख रहे पनि आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान काँग्रेस तयार रहेको सभापति तामाङले बताए । ती गाउँपालिकाको नेतृत्वसहित ६ वटा वडामा माओवादी केन्द्रले दाबी गरेको उनले बताए । त्यस विषयमा हालसम्म पनि सहमति जुट्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्