दार्चुलामा समाजवादीलाई पाखा लगाउँदै कांग्रेस र माओवादीले मात्र गरे भागबण्डा

बिहीबार, मंसिर १, २०७९

दार्चुला - दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबण्डा टुङ्ग्याएका छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका काँग्रेस र माओवादीबीच भागबण्डामा सहमति भएको हो ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा काँग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए । कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउने छ ।

६१ वडामध्ये ४४ मा काँग्रेस र १७ वडा माओवादीले पाएको छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबण्डा दिने तय गरिएको उनको भनाइ छ । २०७४ को निर्वाचनमा काँग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

दुई पार्टीबीच जिल्लास्तरमा भएको समहतिप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ । समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हर्क सिंह समाजवादीलाई पेलेर जाने कुरा मान्य नहुने बताए । उनले भने, ‘हामीलाई बाहिर राखेको कुरा मैले पनि जानकारी पाएँ । अब प्रदेशमा पनि यसबारे छलफल होला । गठबन्धन भनेको सम्मानजनक सहभागिता हो । पोजिसन हेरेर स्थान दिनुपर्छ ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्