रामेछापकाे गठबन्धनमा सकस, कांग्रेस र माओवादी केन्द्रबीच मिलेन भागबण्डा

बिहीबार, मंसिर १, २०७९

रामेछाप - आठ स्थानीय तह रहेको रामेछापमा सत्ता गठबन्धनबीच तालमेलमा सकस देखिएको छ । स्थानीय तह निर्वाचनमा तालमेल गर्न रामेछापमा गठबन्धनका शीर्ष नेताबीच पटक-पटक बैठक बसे पनि भागबण्डा नमिल्दा सहमति जुट्न नसकेको हो । कांग्रेस र माओवादी केन्द्रका नेताहरुले आफू लचिलो हुँदा पनि अर्को दल लचिलो नभएका कारण गठबन्धनमा समस्या आएको बताएका छन् ।

नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्काले माओवादी केन्द्रले धेरै सिट मागेकाले गठबन्धनमा कठिनाइ भइरहेको बताए । ‘आफ्नो क्षमताभन्दा बढी सिट माओवादीले मागेको छ’ उनले भने, ‘गठबन्धन टुट्ने सम्भावना देखिएको छ, भागबण्डाको विषयमा निरन्तर छलफलको चरणमा नै छौं तर कुरा मिलेको छैन ।’

कांग्रेसले पछिल्लो समय रामेछापमा आफ्नो पार्टी मजबुत हुँदै गएको दाबी गरेको छ । ‘अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले एक नगरपालिका, एक गाउँपालिकाको उपप्रमुख र १३ वडा वडा जितेको हो । समग्र ठाउँहरुमा कांग्रेसको स्थान माथि नै थियो हार्दा पनि ।’ सचिव खड्काले भने, ‘तर पछिल्लो चरणमा भएको संघ र प्रदेशको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि कांग्रेसको मत धेरै माथि छ । त्यो मतान्तर र जनआधार विश्लेषण गर्दा ६० प्रतिशत कांग्रेसले पाउनु पर्छ भन्ने हाम्रो धारणा हो । बाँकी अरु दललाई बाँडफाड हुने गरी प्रस्ताव गरेका हौं ।’

उनले कांग्रेसले पाँच पालिका मागेको र त्यसमा एउटा उपप्रमुख एकीकृत समाजवादीलाई र जिल्ला समन्वयमा सहयोग गर्नसमेत सकिने बताए । खड्काले जिल्लाका सबै स्थानीय तहबाट उम्मेदवार सिफारिस भइसकेकाले अन्तिम समयमा गठबन्धन भए कांग्रेस पाएका पालिका र नभएपनि छिट्टै सबै तहको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी रहेको बताए । निर्वाचनमा गठबन्धनको सम्भावना कम भएपछि कांग्रेसले उम्मेदवारको नाम जिल्लामा मागेको हो ।

यता माओवादी केन्द्र रामेछापका सचिव एवम् पूर्व सांसद तारानारायण श्रेष्ठले पनि कांग्रेससँग सिट बाँडफाँडमा कुरा नमिलेकाले जिल्लामा गठबन्धन टुट्ने संकेत गरे । ‘संख्यामा कुरा मिलेको छैन, कांग्रेसका साथीहरुको हाइ लेभलको दाबीले गर्दा वार्ता निष्कर्षमा पुगेको छैन ।’ श्रेष्ठले भने, ‘गठबन्धन नहुने सम्भावना बढेको छ । हुँदै हुँदैन भन्न सकिँदैन ।’

उनले गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको जानकारी दिए । माओवादीले यस अघि चुनाव जितेको दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिकासहित चार वटा स्थानीय तह दाबी गरेको छ ।

एमालेबाट निर्वाचन जितेका मेयर रमेश बस्नेत एकीकृत समाजवादी पार्टीमा गएका छन् । सोही कारणले मन्थली नगरपालिकामा एकीकृत समाजवादीले समेत दाबी गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कांग्रेस र माओवादी केन्द्र पनि दाबी छ । कांग्रेसले समाजवादीसँग मत कम रहेकाले भागबण्डामा खासै विवाद नभएको जनाएको छ ।

सत्ता गठबन्धनको बैठक बस्नु अगाडि नै कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले जिल्लामा माओवादीसँग चुनावी तालमेल नहुने घोषणा गरेका थिए । उनले माओवादीले रामेछापमा कांग्रेससँग भएको सम्झौता विपरित मन्थली माविको विव्यसको चुनावमा भएको गठबन्धनमा ठूलो धोका पाएको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । जिल्लामा कांग्रेसका कार्यकर्ताहरुले गठबन्धन भए आफ्नो पार्टीको चुनाव चिन्ह बाहेक अन्यत्र मतदान नगर्ने उद्घोष गर्दै आएका छन् ।

एमालेले जिल्लामा धमाधम उम्मेदवार घोषणा गरेपनि गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवार घोषणा गरेका छैनन् । एमालेले गठबन्धन भएपनि कम्तिमा ६ वटा पालिका एक्लै जित्ने दाबी गर्दै आएको छ । सत्ता गठबन्धनमा आवद्ध दल भागबण्डामा अल्झिरहेको समयमा एमालेले जिल्ला व्यापी चुनावी कार्यक्रम गरेको छ । गएको स्थानीय निर्वाचनमा रामेछापमा ५ स्थानीय तहमा एमाले एक्लैले निर्वाचन जितेको थियो । माओवादीले दुई र कांग्रेसले एक स्थानीय तहमा निर्वाचन जितेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्