एमालेको दुई पक्षबीच झडप, जितपुर सिमराका वडाध्यक्षसहित ६ जना घाइते

बिहीबार, मंसिर १, २०७९

बारा - बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा नेकपा (एमाले) का दुई पक्षबीच झडप भएको छ । वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो । दुई पक्षबीचको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् ।

झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ । एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुनः एमालेमा फर्किएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्