भागबन्डालाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ– ६ महानगरको भागबन्डामा सहमति जुटाएका सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनले आज महानगर र उपमहानगरको बाँडफाँटलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको भागबन्डामा सहमति जुटाएपनि उपमहानगरका विषयमा निष्कर्षमा पुग्न सकेको थिएन ।

११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने कार्य अन्तिम चरणमा पुगेपनि दलहरुले औपचारिक निर्णय भने सार्वजिनक गरेका छैनन् ।

गएरातिको बैठकमा लगभग सहमति भएपनि अन्तिम रूप भने आज दिइने नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलले बताए । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताएका छन् ।

स्रोतका अनुसार ६ मध्ये कांग्रेसले तीन र बाँकी दलले एक/एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ ।

नेकपा एसले दाबी गर्दै आएको पोखरा महानगरपालिका पाएको छ भने माओवादी केन्द्रले भरतपुर लिने सहमति जुटेको छ । सत्ता घटकको नेतृत्व गरेको कांग्रेसलाई काठमाडौँ, ललितपुर र विराटनगर दिने सैद्धान्तिक सहमति भएको छ । जनता समाजवादी पार्टीले भने वीरगञ्ज पाउने भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्