गृहमन्त्री खाण र दक्षिण कोरियाका राजदूत सुकबीचको भेटवार्तामा के भयो ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेटघाट गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । उनले उच्च शिक्षा अध्ययन गर्न सानो सङ्ख्यामा भए पनि नेपाली विद्यार्थी कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिए । पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियाली पर्यटक नेपाल आउने गरेका छन् । भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाणले कोरियाली गाडी, मेसिन र मोबाइललगायतका कोरियाली प्रविधियुक्त सामान नेपालले आयात गरेर उपभोग गरिरहेको बताए । उनले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजना निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहेको जानकारी गराए । भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको इपीएस अब सुरु हुने चरणमा रहेको जानकारी गराए । त्यस्तै कोभिडकै कारण कोरियाली पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा पर्यटक आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताए । अब वर्षमा करिब ३० हजार कोरियाली पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उहाँको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्