कांग्रेसले छाड्यो पोखरा महानगरको दाबी, एकीकृत समाजवादीलाई दिने सहमति

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको मेयरमा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए । तर, देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाएपछि उनीहरु पोखरा छाड्न सहमत भएको बताइएको छ । जिल्ला सभापति बरालले सभापति देउवाले वर्तमान परिस्थितिको बाध्यता सुनाएपछि आफूहरु समाजवादीलाई नै महानगर छाड्ने बुझाइका साथ बालुवाटारबाट बाहिरिएको जानकारी दिए ।

अहिले महानगर र उपमहानगरको तालमेलको विषयमा अन्तिम निर्णय लिन बालुवाटारमा बैठक जारी छ । सोमबार नै भएको सहमतिअनुसार पोखरा बाहेक अन्य महानगरमा भने तालमेलको सहमति जुटेको थियो । जसअनुसार वीरगञ्ज जसपा तथा भरतपुर माओवादीलाई दिने सहमति भएको थियो । बाँकी चार महानगर भने काँग्रेसले लिने समझदारी भएको थियो । आज सबै विषयमा अन्तिम रुप दिँदै महानगर तथा उपमहानगरको मेयर उपमेयरमा तालमेलबारे निणर्य लिइने बताइएको छ ।

नेपाली कांग्रेस पोखराका सभापति किशोरदत्त बरालले पोखरा महानगर कांग्रेसले छोड्ने अवस्था आएको बताएका छन् । प्रधानमन्त्रीले बोलाएर पोखराबाट नेताहरूको टिमसहित काठमाडौं आएका बरालले प्रधानमन्त्रीसँगको भेटपछि पोखरा छोडेको संकेत गरेका हुन् । सभापति बरालले भने, ‘पोखराको नेतृत्व छोड्यौं भन्दा हुन्छ ।’ उनले के सर्तमा नेतृत्व छोडेको भन्ने विषय भने खुलाउन चाहेनन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्