लोसपाबाट मेयरका लागि सिफारिस भएका साह एमालेमा प्रवेश

बिहीबार, मंसिर १, २०७९

जनकपुर - जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सिफारिस भएका जानकीराम साह नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् । तत्कालीन राजपाबाट वडा नम्बर-७ को अध्यक्षमा विजयी भएका साह आज भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गरेका हुन् ।

लोसपाबाट जनकपुरधामको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र सञ्जयकुमार चौधरी मेयरका लागि सिफारिस भएका हुन् ।

एमालेले पनि मेयरका लागि एकल नाम सिफारिस गरिसकेको छ । एमालेबाट गएको साता व्यवसायी शिवशंकर साह (हिरा) को नाम सिफारिस भएको थियो । तर, साह एमाले प्रवेश गरेपछि हिरालाई टिकट दिने सम्भावना न्यून देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्