आफ्नै कार्यकर्तालाई देउवाको प्रश्न : कांग्रेसलाई सरकारमा ल्याउनु मेरो गल्ती हो ?

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । उनले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको पनि बताएका छन् ।

नेविसंघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बताए । ’यो गठबन्धन टुटाउने षडययन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनु पर्‍यो भनेको हो । यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ,’ उनले भने, ‘गठबन्धन भन्दाखेरि ‘गिभ एन्ड टेक’ त हुन्छ,’ उनले भने, ‘कांग्रेस ठूलो पार्टी छ तर सानो पार्टी हामी पनि हुन पाउँ भन्नु भएको छ ।’

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा स्मरण गराए ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मादेखि महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेका बेला देउवाले भने, ‘हामी संसदीय चुनावमा हारेको हो । अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारें मैले ? मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ । धन्यवाद र बधाई दिनुपर्नेमा !’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्