भागबण्डाको सकस : सत्तारुढ गठबन्धनकाे वैठक २ बजेलाई सर्‍यो

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक दिउँसोका लागि सरेको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डामा निर्णायक छलफल गर्न ११ :३० बजे बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

दलहरुबीच आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले बैठक सारिएको बताइएको छ । स्थानीय तहमा सानादेखि ठूला सबै दलको दाबीमा अडान बढेपछि सोमबार दुई पटक बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो । ६ महानगरमध्ये ३ वटा कांग्रेसलाई र १/१ वटा माओवादी, जसपा र एकीकृत समाजवादीले आफूलाई दिनुपर्ने अडान राखेका छन्। एकीकृत समाजवादीले तोकेरै पोखरा महानगरपालिका र भरतपुर महानगरमा माओवादीले मेयरमा अडान राखेको छ । पोखरामा कांग्रेस र समाजवादी, भरतपुरमा पनि कांग्रेस र माओवादीको दाबी कायमै छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहे पनि सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट सकसपूणर् बनिरहेको छ । चुनावी तालमेलका विषयमा पालिकाको भागबन्डा मिल्न नसक्दा गठबन्धनको गाँठो फुक्न सकेको छैन ।

केन्द्रमा सत्तासीन दलका शीर्ष नेताहरू ‘गठबन्धनको भागबण्डा’ मा जुटेका छन् । तर, पार्टीेका तल्ला निकाय/कमिटीहरू गठबन्धनको विपक्षमा छन् । मुख्यगरी कांग्रेसका तल्ला कमिटीले एक्लै चुनावमा जानुपर्ने ‘दबाब’ पार्टी नेतृत्वलाई दिइरहेका छन् । अधिकांश जिल्ला र मातहतका कमिटीहरूले गठबन्धनका नाममा अरू दललाई उम्मेदवार बनाए त्यसको उल्लंघन गर्ने चेतावनी उनीहरूको छ ।

कांग्रेस र मतदाता कोही पनि तालमेलको पक्षमा नरहेको कांग्रेस महामन्त्री गगन थापा समेत बताउँदै आएका छन् । ‘५० भन्दा बढी जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा छु । देशैभरीका नेता-कार्यकर्ता तालमेलको पक्षमा छैनन् ।’ सोमबार एक कार्यक्रममा उनले थपे, ‘पार्टीका साथी, नेता-कार्यकर्ता, शुभेच्छुक, मतदाता कांग्रेसलाई भोट दिने पनि तालमेलका पक्षमा देखिएका छैनन् । कार्यकर्ता, मतदाताको मनोविज्ञान निर्वाचनमा हार्नुपरे हारिएला, राजनीति भनेको विचारसँग जोडिएको विषय हो ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्