गठबन्धनमा महानगर-उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : वर्षमान पुन

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताएका छन् ।

पार्टीको आइटी सेन्टरले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा छ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन् । दलहरूबीच आ-आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ ।

नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने कोशिस भइरहे पनि मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने जानकारी दिए । उनले भने, ‘नगर र गाउँपालिका पनि माथिबाटै मिलाउन कोशिस गरेका छौँ । नमिले गठबन्धनबाटै हामी प्रतिस्पर्धा गछौं, महानगरको र उपमहानगरको भने आज टुङ्गो लाग्छ ।’

तल्ला तहमा सिट बाँडफाँटका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर संख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ छ । नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थितरूपमा जनस्तरमा पुर्‍याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्र केन्द्रीय प्रचार विभागका सचिव गोविन्द आचार्यले जनताले बुझ्ने गरी सरल भाषामा प्रापकलाई सुनिश्चित गरेर पाउने गरी पठाउनुपर्ने बताए । राजनीतिक, वैचारिक र नीतिगत उपलब्धिका मुद्दालाई उठाउन उनले आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्