चुनावी तालमेलको सकस : देउवाले कांग्रेस कास्कीका सभापतिसहितका नेतालाई काठमाडौं बोलाए

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनेको छ ।

कास्कीका कांग्रेस नेताहरु कुनै हालतमा पोखराको मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरुले पोखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेको छ । कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादी बाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।

कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ । उनीहरुको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन् । यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् ।

प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौं हिंडेका छन् । ‘उहाँ (सभापति) ले बोलाउनु भएको छ । हामीले अहिलेसम्म गरेका निणर्य र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भने, ‘किन बोलाउनु भयो भन्ने थाहा छैन । चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं ।’

उनले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरु रहेको उनले बताएका छन् । अघिल्लो साता जिल्लाका झण्डै एक सय नेता-कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए । त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निणर्य नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए । अहिले उनैले बोलाएपछि काठमाडौं हिंडेको बरालले बताए । पोखराको मेयरका कांग्रेस र नेकपा एकीकृत समाजवादीको अडानका कारण गठबन्धन नै अप्ठ्यारोमा परेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्