भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि

बिहीबार, मंसिर १, २०७९
काठमाडौं – स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको भागबन्डा मिलाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँटमा सकस झेलिरहेको गठबन्धनको बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले आजको बैठकपछि सहमतिको खाँका सार्वजनिक गर्ने बताएका छन् । सहमतिका लागि सोमबार गठबन्धनको बैठक दुईपटक बसेको थियो । तर, सत्ता घटकको नेतृत्व गरेको नेपाली कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा आफ्नो दाबी यथावत राखेको छ । पोखरा महानगरमा एकीकृत समाजवादीले पनि दाबी गरेपछि गठबन्धनलाई सहमति जुटाउन सकस परेको हो । आइतबार ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो । गठबन्धनका अन्य दलले कांग्रेसलाई काठमाडौँ, ललितपुर र विराटनगर लिन प्रस्ताव गरेका छन् । वीरगञ्जमा जनता समाजवादी पार्टीले दाबी गरेको छ भने माओवादी केन्द्रले भरतपुर महानगरपालिका पाउनु पर्ने अडान लिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्