गठबन्धनले एमाले सिद्धाउने खेलमा लागेको छ - अष्टलक्ष्मी शाक्य

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चूनावी तालमेल हुने भएको छ । बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । दुई पार्टीबीच पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । यसैबीच एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी निर्वाचनमा एमालेले एक्लै जित्न सक्ने दाबी गरेकी छिन् । निर्वाचनमा एमालेले एक्लै जित्न सक्ने आधार रहेको भन्दै उपाध्यक्ष शाक्यले औचित्य र आवश्यकता आधारमा मात्र तालमेल हुनुपर्ने बताइन् । उनले पुराना कुरालाई सम्झने हो भने कमल थापा नेतृत्वको राप्रपा नेपालसंगको तालमेलले धेरै प्रश्न उठाउने भएपनि परिवर्तित अवस्थामा आफुलाई रुपान्तरण र समृद्ध नेपालको पक्षमा उभिए कुनै समस्या नरहेको बताइन् । उनले गणतन्त्रबिरोधीसंग तालमेल हुन नसक्ने र राप्रपा नेपालले गणतन्त्र स्वीकार गरिसकेको देखिएको तर्क गरिन् । उनले पाँच दलको गठबन्धनले एमाले सिद्धाउने खेलमा लागेको भन्दै उनीहरुसंग चूनावी तालमेल हुनै नसक्ने स्पष्ट पारिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्