१७ जिल्ला बाहेक अन्यमा स्वतन्त्र रुपमा चुनाव लड्छौं : हृदयेश त्रिपाठी

बिहीबार, मंसिर १, २०७९

परासी - जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह निर्वाचनमा १७ जिल्ला बाहेक अन्य जिल्लाबाट स्वतन्त्रबाट चुनाव लड्ने बताएका छन् । १७ जिल्लामा भने आफ्नै चिन्हबाट चुनाव लड्ने उनले जानकारी दिएका छन् ।

निर्वाचनमा अहिलेसम्म तालमेल गर्ने सोच नबनाए पनि उपयुक्त अवस्था आएमा तालमेल हुन सक्ने उनले बताएका छन् । एमालेको सूर्य चुनाव चिन्हबाट पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित त्रिपाठीले नयाँ पार्टी खोलेका छन् । दल दर्तापछि उनको पार्टीले १७ जिल्लाको विवरण निर्वाचन आयोगमा बुझाएको छ । ‘१७ जिल्लाबाट आफ्नै चिन्हबाट चुनाव लड्छौं अन्य जिल्लाबाट स्वतन्त्रबाट उमेदवारी दिन्छौं’, उनले भने । आफ्नै चिन्हबाट चुनाव लड्ने जिल्लामा तराईसहित केही पहाडका पनि रहेको उनले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका लागि अन्य दलहरुले धमाधम उमेदवारको टुंगो लगाइ रहेपनि आफ्नै जिल्लामा समेत उनले उम्मेदवारको टुंगो लगाएका छैनन् । स्थानीय चुनावबारे टिप्पणी गर्दै उनले भने ‘सैद्धान्तिकरुपले स्थानीय तह दलिय आधारमा हुनु हुँदैन भन्ने हाम्रो धारणा हो । दलकै आधारमा हुने भएपछि हामीलाई पनि बाध्यता बनाएको छ । त्यसैले चुनावमा जाँदैछौं’, उनले भने ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका त्रिपाठीले स्थानीय तहमा सबैभन्दा बढी स्वास्थ्य र कृषि क्षेत्रमा गएको रकम दुरुपयोग भएको उनले बताए । चुनाव घोषणा भइसकेपछि स्थानीय तहहरुले कार्यकर्ता पोस्न जथाभावी कृषि उपकरणलगायतका सामग्री वितरण गरेर दुरुपयोग गरेको उनको आरोप छ । स्थानीय तहमा भएको आर्थिक अनियमिता र भ्रष्टचार अन्त्यका लागि पार्टीले नारा बनाएर चुनावमा जाने त्रिपाठीको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्