ओलीलाई बलियो बन्न नदिनु नै हाम्रो लक्ष्य हो : रामचन्द्र पौडेल

बिहीबार, मंसिर १, २०७९

तनहुँ - सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो हुन नदिनु नै आफूहरूको लक्ष्य रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाको ३० औं स्थापना दिवसको अवसरमा नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई बलियो बनाएर जाने प्रतिगमन पक्षधरको सोच रहेको भन्दै उनीहरूलाई बलियो हुन नदिनु गठबन्धनको लक्ष्य रहेको बताएका हुन् ।

गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताउँदै कांग्रेसलाई गठबन्धन नगरी नहुने र गर्न पनि असजिलो रहेको उनले बताए । पौडेलले भने, ‘ओलीलाई बलियो बनाएर के-के काम गरौंला भन्ने प्रतिगमनको सोच छ । उनीहरूलाई बलियो हुन नदिने नै हाम्रो लक्ष्य हो ।’

यसका साथै उनले गठबन्धनका सदस्यहरुले आफ्नो हैसियत र क्षमताअनुसारको पद दाबी गर्नुपर्ने बताएका छन् । नेता पौडेलले पाँच दलीय गठबन्धनका सदस्यहरुलाई धेरै माग नगरी आफ्नो हैसियत र क्षमताअनुसारको पद दाबी गरी त्यसैमा सन्तुष्ट भएर गठबन्धन बचाइराख्नुपर्ने बताएका हुन् ।

‘केवल सत्ताका लागि मात्र नभई गलत बाटोमा मुलुकलाई जान नदिनका लागि यो गठबन्धन गरिएको हो,’ उनले भने, ‘मुलुकको विकासका लागि गरिएको गठबन्धनले परिवर्तनको रक्षा गर्दै लोकतन्त्रको बाटोमा, मूल्यमान्यतामा आधारित राज्यलाई विकासको बाटोमा अगाडि बढाउन मद्दत गर्नेछ ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्