‘भरतपुरको मेयरमा माओवादीले कांग्रेसलाई नसघाए गठबन्धन हुँदैन, नतिजा अर्कै हुन्छ’

बिहीबार, मंसिर १, २०७९

चितवन - सत्तारुढ नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भरतपुर महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिएका छन् । २०७४ सालको निर्वाचनमा आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैंचो अब कांग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर बताएका छन् ।

खनालले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भए पनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने चेतावनी दिए । उनले कार्यकर्तालाई निरास बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्ने बताए ।

सभापति खनालले भने, ‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिनँ । टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा ? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रिय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ । तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण, हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनर्विचार गर्नुपर्छ ।’

खनालले महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीच तालमेल गरेर जान सकिनेबारे पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनकै सांसद भएको र चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकाले पनि आफन्तवादलाई त्यागेर यस पटक कांग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न आग्रह गरे । उनले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली कांग्रेसले गरेको नेतृत्व कांग्रेसप्रतिको विश्वासले पनि महानगरमा कांग्रेसको छुट्टै पहिचान रहेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्