आगामी निर्वाचन सामान्य होइन, यो प्रतिगमन र अग्रगमनबीचको लडाइँ हो : प्रचण्ड

बिहीबार, मंसिर १, २०७९

सिरहा - सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब हुने तीनै तहको निर्वाचनमा आफूहरुको पक्षमा लहर आउने बताएका छन् ।

माओवादी नेता रामप्रताप साहको स्मृतिमा बनाइएको प्रवेशद्वार उद्घाटन समारोहलाई सिरहाको मिर्चैया बिहीबार सम्बोधनका क्रममा उनले यस्तो दावी गरेका हुन् । ‘आउँदो निर्वाचनमा हामी प्रतिक्रियावादीहरुलाई परास्त गर्नेछौं । आगामी निर्वाचन सामान्य होइन, यो एउटा लडाइँ हो । प्रतिगमन र अग्रगमनबीचमा हुने लडाइँ हो’, उनले भने, ‘स्थानीय, प्रादेशिक र संघीय निर्वाचन हामीले जित्नै पर्छ ।’

उनले माओवादी केन्द्रले संघीयता छोड्यो भनेर कयौंले भ्रम फिंजाएको समेत आरोप लगाए । ‘मधेसमा नै जनतामा नयाँ जागरण आएको छ । आगामी निर्वाचनमा माओवादीको पक्षमा लहर आउँदैछ’, उनले भने, ‘माओवादीले जित्दा राष्ट्र सुरक्षित हुन्छ, माओवादीले हारे राष्ट्र र संविधान दुर्घटनामा पर्छ ।’

प्रचण्डले गाउँमा आइसकेको सिंहदरबार फर्काउने खेल भइरहेको पनि बताए । ‘एकथरी मान्छेहरु गाउँको अधिकार सिंहदरबार नै फर्काउन खोज्दैछन् । यो निर्वाचन हामीले जित्नै पर्छ’, उनले भने, ‘अहिले पनि देश सम्पूणर् रुपले जनताको इच्छाअनुसार चल्ने अवस्थामा आइसकेको छैन ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्