राजनीति पुस्तान्तरणको माग गर्दै युवाहरू माइतीघरमा

शनिबार, मंसिर २४, २०७९


काठमाडौँ– राजनीति पुस्तान्तरणको बहस माइतीघर पुगेको छ । सामाजिक सञ्जालहरूमा देखिने पुस्तान्तरणको बहस माइतीघरसम्म पुगेको हो । 


प्राय आन्दोलनहरू हुने माइतीघरमा युवाहरू राजनीति पुस्तान्तरणको माग गर्दै एकजुट भएका छन् । सामाजिक सञ्जालमा विचार मिल्नेहरूले माइतीघरमा पुगेर नेतृत्व हस्तान्तरण र राजनीति पुस्तान्तरणका लागि आवाज उठाउने सल्लाह गरे र माइतीघरमा जम्मा भएका हुन्। 


विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरूले राजनीतिलाई पुस्तान्तरण गर्न र पुराना नेताहरूलाई अनुभव साटेर सहयोग गर्न अनुरोध गरिरहेका छन् । 


सामाजिक अभियन्ता जीवन घिमिरे मतको अनुपात नमिलेको भन्दै राजनीतिक नेतृत्वले सोच्ने बेला आएको बताउँछन् । युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने उनको तर्क छ । ‘अहिलेको चुनावको निचोड, शीर्ष नेता बाटो छोड’ लेखिएको प्लेकार्ड बोकेका उनले ८० प्रतिशत युवा मतदाताले मतदान गरेपछि युवा पुस्तालाई नै नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउँछन् । 


क्यानडा नेपालसँगको कुराकानीमा उनले भने, ‘अहिले मतदान गर्ने उमेर समूहलाई मध्यनजर गर्ने हो भने ५० वर्ष मुनीको ८० प्रतिशत छन् । अब ८० प्रतिशत युवा मतदाताले मतदान गरेपछि बन्ने सरकार पनि युवाको हुनु पर्छ ।’ मतदान गर्ने ८० प्रतिशत युवा पुस्तामाथि २० प्रतिशत मात्र मतबाट अनुमोदित भएका पुराना नेताहरूले शासन गर्न नहुने उनीहरूको भनाइ छ ।


नेपाली काँग्रेस भित्र गगन कुमार थापा अहिले संसदीय दलको नेताका लागि लड्ने बताइरहेका छन् । उनको संसदीय दलको यात्रा त्यति सहज छैन भनेर काङ्ग्रेसकै अघिल्लो पुस्ताका नेताहरू बोलिरहेका छन् । राजनीतिक दलहरूका भित्र भएको पुस्तान्तरणको बहसले माइतीघरलाई गुहारेको छ । 

 

नेकपा एमाले भित्र पनि पुस्तान्तरणका लागि कुरा नभएको होइन । बोल्न नसक्ने भएका कारण र चैन अफ कमान्डमा पार्टी चलेकाले ओलीलाई नै प्रधानमन्त्री भन्दै हिँडेका छन् । नेकपा माओवादी केन्द्र भित्र पार्टी पुनर्गठनको बहस उठी रहेको छ । राप्रपाले युवा पुस्तालाई नेतृत्व सुम्पेका कारण अहिलेको चुनावबाट संसद्मा बलियो उपस्थिति गराएको छ । रवि लामिछानेले भरखरै खोलेको पार्टीले युवा नेतृत्व भएकै कारण राम्रो मत प्राप्त गरेको छ । 


तर, माइतीघरमा भेला भएकाले कुनै राजनीतिक दल विशेष भनेर परिचय दिएका छैनन् ।  उनीहरू आफू पनि युवा भएकाले नेपालको राजनीतिको नेतृत्व युवा पुस्ताले गर्नु पर्ने माग राख्छन् । घिमिरेले भने, ‘हामीलाई युवा पुस्ता चाहिएको हो । एमालेबाट योगेश भट्टराईहरुको पुस्ता आउनु होला, काङ्ग्रेसबाट गगन, विश्वप्रकाशहरु आउनु होला, माओवादीले पनि युवा पुस्तालाई नेतृत्व देओस्, अरू पनि भएका पार्टीबाट त्यसै गरी युवा आउनु पर्छ भन्ने हाम्रो अपेक्षा हो ।’


समानुपातिक मतको पनि कदर हुनु पर्ने भन्दै उनीहरूले खबरदारी गरेका छन् । समानुपातिकमा सबैको समान सहभागिताका लागि कोटा छुटाइए पनि थरको आधारमा अझै हुने खानेले पद पाउने प्रवृत्तिको अन्त्य हुनु पर्ने उनीहरूले माग राखेका छन् । उपस्थिति भएकालाई सम्बोधन गर्दै घिमिरेले भने, ‘वास्तविक थारु, वास्तविक चेपाङ, वास्तविक पिछडिएको क्षेत्रको उपस्थिति अहिले पनि संसद्मा हुन सकेको छैन । समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त मतलाई आधार बनाएर हुने खानेकै हालीमुहाली छ। यसलाई पनि सच्याउनु पर्छ भन्ने हाम्रो माग हो ।’


तीन पुस्तासम्मले मतदान गर्दासमेत एउटै व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्चीमा बसिरहेको र कुनै पनि परिवर्तनकारी काम नगरेको भन्दै उनीहरू आन्दोलित हुनु परेको बताउँछन् । उनीहरूले राजनीतिक पुस्तान्तरणका लागि नेतृत्व हस्तान्तरण अनिवार्य हुनु पर्ने माग राखेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्