समानुपातिकतर्फकाे सिटको टुङ्गो लगाउन एमालेको सचिवालय बैठक बस्दै

शनिबार, मंसिर २४, २०७९

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । दिउसो ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

 

बैठकमा समानुपातिक तर्फको सिट बाँडफाँटका विषयमा छलफल हुने रिजालको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि पहिलो पटक एमालेको केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो । 

 

एमालेले समानुपातिकमा सबै भन्दा बढी सिट पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ । समानुपातिकबाट सबै भन्दा बढी महिलालाई संसद्मा प्रवेश गराउने तयारीमा एमाले रहेको छ।

 

आजको बैठकले समानुपातिकको सिटका विषयमा मात्र छलफल गर्ने र निर्वाचनको समीक्षाका लागि वृहत् तयारी गर्नु पर्ने भएकाले सम्भवतः आजको सचिवालय बैठकले अर्को बैठकका सम्बन्धमा निर्णय गर्ने प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्