काठमाडौं । बढ्दो महँगीले नेपाली जनता मारमा परेका छन् । ग्रामीणभन्दा पनि सहर बजारमा बस्ने धेरै पीडित छन् । सय रुपैयाँले एक मुठा सागसमेत नआउने भइसक्यो । गोलभेंडा नै किलोको १२५ रुपैयाँ पुगेको छ । यस्तो महँगीमा पनि मुलुकको राजधानीमा ७० रुपैयाँमा पेटभरि भात खान पाइन्छ भन्दा अपत्यारिलो लाग्ला । तर, यो सत्य हो । ललितपुरको पाटनढोकाको ललित भोजनालयमा ७० रुपैयाँमै थपीथपी खाना पाइन्छ । कुखुराको मासुभातकोे १२० रुपैयाँ पर्छ । तर, यहाँ खाना मागेर फ्याल्न भने पाइँदैन । जरिवाना लाग्छ ।

ललित भोजनालयमा हरेक दिन जिरा मसिनो चामलको भात पाक्छ । तरकारी सिजनअनुसारको । अमिलो पिरो चट्ट अचार । झानेको दाल । मिठो । बिहान ९ बजेदेखि ललित भोजनालयमा खाना खानेको भीड लाग्छ । ७० रुपैयाँ प्लेटमा खाना दिएर पनि ललितपुर गोटिखेलका कुमार तामाङले महिनाको डेढ लाख कमाउँछन् । सबै खर्च घटाएर महिनाको एक लाख बच्ने उनको भनाइ छ । काम गर्न सके नेपालमै कमाइन्छ विदेश जानै नपर्ने उनको अनुभव छ । विगत १० वर्षदेखि कुमारले सस्तो होटल चलाइ रहेका छन् । साँझ बिहान होटलमा भीड हुन्छ । दैनिक चार सयजनाले खाना खाने गरेको उनी बताउँछन् । उनले होटलको भाडा महिनाको २८ हजार तिर्दै आएका छन् ।